नेकपाले घोषणा गर्‍यो एमसीसीको विरोधमा आन्दोलनका कार्यक्रम

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले अमेरिकी अनुदान सहयोग सम्बन्धी परियोजना (एमसीसी) को विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । शुक्रबार बसेको नेकपाको स्थायी कमिटी बैठकले संयुक्त गोष्ठी र मार्चपासका कार्यक्रम तय गरेको हो ।

त्यसपछि फेरि अर्को बैठक बसेर दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने बैठकपछि स्थायी कमिटी सदस्य अनिल शर्मा बिरहीले जानकारी दिनु भयो ।

शुक्रबार बिहान बसेको स्थायी कमिटीको बैठकले भदौ १९–२३ गतेसम्मको संघर्षको कार्यक्रम घोषणा गरेको हो ।

त्यसपछि असोज १ गतेदेखि १५ गतेसम्म मार्चपास गर्ने उनले जानकारी दिनु भयो । मार्चपासमा सामना साँस्कृतिक टोली पनि सहभागी हुने छ ।

काठमाडौंको लप्सिफेँदी, नुवाकोट, धादिङ, पाल्पा, नवलपरासी र रुपन्देहीमा एमसीसी विरोधीहरुको संयुक्त गोष्ठी गर्ने नेता शर्माले जानकारी दिनु भयो ।

त्यसपछि फेरि स्थायी कमिटीको बैठक बसेर दोस्रो चरणको आन्दोलनका कार्यक्रम तय गर्ने नेता शर्माले बताउनु भयो ।

नेता शर्माले चारदलीय समाजवादी मोर्चाको विषयमा पनि सामान्य छलफल भएको बताउनु भयो ।

‘पहिलो चरणको कार्यक्रममा अहिले सहभागी छौं । यो सकिएपछि आवश्यकअनुसार निर्णय हुन्छ’, उहाँले भन्नु भयो ।

‘महासचिव विप्लवले सैन्य रणनीतिअन्तर्गत लैजान दिनुहुँदैन त्यो हो भने हामी मान्दैनौं भनेर प्रधानमन्त्रीलाई भनिसक्नुभएको छ । माधव नेपालजीले पनि सहयोगमात्र हो भनेर बुझेका छौं दायाबाया हो भने स्वीकारिन्न भनिसक्नुभएको छ’, शर्माले भन्नुभयो ।