काठमाडौं । समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक बोलाउनुभएको छ ।
दिउँसो २ बजेको लागि बोलाइएको सर्वदलीय बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणविरुद्ध महाअभियोग दर्ता भएपछि त्यसलाई प्रक्रियामा पुर्याउने र जारी संसद्को अवरोधबारे छलफल हुने सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।
प्रधानन्यायाधीशविरुद्ध ल्याएको महाअभियोग प्रस्तावको प्रतिवाद गर्दै एमालेले सभामुख र अन्य न्यायाधीशविरुद्ध ल्याउन सक्ने आँकलन गरिएको महाअभियोगबाट बच्ने उपायस्वरुप सर्वदलीय बैठक आव्हानसमेत गरिएको बुझिएको छ ।
साथै प्रतिपक्षी दल नेकपा (एमाले) ले गरिरहेको अवरोध खुलाउने विषयमा समेत छलफल गर्ने बताइएको छ ।
स्वतन्त्र हुनुपर्ने सभामुखले नेकपा (माओवादी केन्द्र) को कार्यकर्ताको रूपमा सत्ता गठबन्धनको स्वार्थलाई केन्द्र भागमा राखेर भूमिका निर्वाह गरिरहेको एमालेको दावी छ ।
एमालेले हटाएका १४ साँसद्को सुचना टाँस नगरेर माओवादी केन्द्रको कार्यकर्ताको रूपमा भूमिका निर्वाह गरिरहेको भन्दै एमालेले अवरोध गरिरहेको छ ।
तर, सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले जाने वा नजाने निश्चित छैन ।
खबर बजार । २ फाल्गुन २०७८, सोमबार १०:४३