काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकै बिच प्रतिनिधसभाबाट अमेरिकी सहयोग सम्बन्धि परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) माथिको सैद्धान्तिक छलफलको प्रस्ताव बहुमतले पारित भएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले (एमसीसी) माथिको सैद्धान्तिक छलफलको प्रस्ताव गरेकोमा ध्वनी मतको आधारमा बहुमतले पारित भएको हो ।
प्रस्ताव स्वीकृत भएसँगै सभामुख सापकोटाले एमसीसी अनुमोदन गर्ने सम्बन्धी प्रस्तावमा संशोधन नहुने जानकारी गराउनुभएको छ । संसद बैठकमा अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) ले एमसीसी सम्झौता पारित गरियोस् भन्ने प्रस्ताव छलफलको लागि पेश गर्नुभएको थियो ।
अघिल्लो आइतबार प्रतिनिधिसभामा एमसीसी पेस गर्ने बेला भागेका अर्थमन्त्री शर्मा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले सत्ता गठबन्धन जोगाइराख्न एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेपछि संसद्मा पुग्नुभएको हो ।
पहिला एमसीसीको बिरोधमा कार्यकर्ता सडक आन्दोलनमा परिचालन गरेका माओवादी केन्द्र र एकीकृत समाजवादीले सत्ता गठबन्धन जोगाइराख्न एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेका छन् ।
गठबन्धत भत्किँदा आगामी तीनै तहका निर्वाचन नेकपा (एमाले) सँग एक्लै लडेर जित्न नसकिने आँकलन गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसी पास गर्ने समझदारी गरेका हुन् ।
खबर बजार । १५ फाल्गुन २०७८, आईतवार १८:०६