काठमाडौं । नेकपा एमालेका नेता एवं सांसद गोकुल बास्कोटाको भक्तपुरस्थित घर अगाडि भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ ।
प्रेसर कुकरमा शंकास्पद देखिने गरी राखिएको वस्तु सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी परिसर, भक्तपुरका एसपी प्रजित केसीले बताउनु भयो । कुकरमा विस्फोटक पदार्थ चाहिं नभएको नेपाली सेनाका सहायक रथी नारायण सिलवालले बताउनु भयो ।
शंकास्पद वस्तुसँगै नेपालको राष्ट्रिय झण्डा र केही पर्चाहरु पनि भेटिएका छन् । प्रहरीका अनुसार एउटा पर्चामा कार्य मोर्चाको नाममा ‘उपत्यकाका ठूला नेताहरुलाई बाहिर भगाऔं’ लेखीएको थियो ।
‘तर्साउन मात्रै खोजिए जस्तो देखिन्छ, कसले राखेको हो भन्ने विषयमा अनुसन्धान गरिरहेका छौं’, केसी भन्नु भयो । बास्कोटाको यही घर निर्माणाधीन भएका बेला २०७६ फागुनमा पनि विस्फोट भएको थियो र त्यतिबेला नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले घटनाको जिम्मेवारी लिएको थियो ।
खबर बजार । १८ मंसिर २०७९, आईतवार १३:२२