

काठमाडौं । एमसीसी सम्झौता अनुमोदनमा असहमति जनाउँदै राष्ट्रिय जनमोर्चाले सत्तारुढ पाँच दलीय गठबन्धनबाट अलग हुने निर्णय गरेको छ ।
जनमोर्चाले गठबन्धनमा बस्नुको औचित्य सकिएको निष्कर्ष सहित अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा गठबन्धनबाट अलग भएको जानकारी दिइएको छ । जनमोर्चाकी एकमात्र सांसद दुर्गा पौडेलले एमसीसी अनुमोदन हुँदा विपक्षमा मत दिनुभएको थियो ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, माधव नेपाल समूह, जसपाका साथै जनमोर्चा पनि आन्दोलनमा होमिँदै अदालत गएको थियो ।
सर्वोच्च अदालतले असार अन्तिम साता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश गरेपछि जनमोर्चा लोकतन्त्र र परिवर्तन संस्थागत गर्ने उद्देश्यका साथ सत्ता गठबन्धनमा जोडिएको थियो ।
यद्यपि सरकारमा सहभागी नभई बाहिरै बसेर सघाउने निर्णय गरेको थियो । तर एमसीसी सम्झौतालाई राष्ट्रघाती भन्दै आएको जनमोर्चा सत्ता गठबन्धनले नै व्यात्मक घोषणाका नाममा अनुमोदन गरेपछि सत्तारुढ पाँच दलीय गठबन्धनबाट बाहिरिएको हो ।

खबर बजार । १६ फाल्गुन २०७८, सोमबार १६:००