‘एमसीसीमा हामिलाई जोडेर गलत हल्ला चलाइयो’ : एमाले

काठमाडौं । नेकपा (एमाले) ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) मा आफूलाई जोडेर हल्ला चलाइएको दावी गरेको छ ।

समसायिक विषयमा धारणा सार्वजनिक गर्न काठमाण्डौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केपी ओलीले यस्तो दावी गर्नुभएको हो ।

अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा संसदमा पेस गरेकाे र प्रदीप ज्ञवाली अमेरिका जाँदा आईपीएसको अंग बनाइयो भन्ने जस्ता गलत हल्ला सरकार पक्षका नेताहरुले चलाएको बताउनुभयो ।

ओलीले एमसीसी सम्झाैता गर्दा एमालेसँग कुनै सहकार्य र सल्लाह नभएको दावी समेत गर्नुभयो । ओलीले एमसीसीमाथि सरकारले गरेको व्याख्यात्मक घोषणालाई तथाकथित भन्दै त्यसको कुनै अर्थ नरहेको बताउनुभयो ।

ओलीले एमसीसीलाई स्वस्थ ढंगले अगाडि बढाउनुपर्नेमा राजनीति गरिएको समेत दावी गर्नुभयो । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजादी) प्रति समेत कटाक्ष गर्दै ओलीले ‘एमसीसीलाई राष्ट्रघाती भन्नेले के आधारमा त्यसलाई स्वीकार गरेको ?’ भन्दै प्रश्न समेत गर्नुभयो ।

उहाँले एमसीसी अनुमोदन गर्दा सभामुख अग्निप्रसाद सापकोटाले बलमिच्याईं गरेको बताउनुभएको छ ।

संसदको एउटा अधिवेशनमा पेश भएको प्रस्ताव त्यो अधिवेशनमा अघि बढेन भने अर्को अधिवेशनमा फेरि ल्याउनुपर्ने भएपनि एमसीसीमा त्यसो नगरिएको उहाँले बताउनुभयो । मृत प्रस्तावलाई तथाकथित रुपमा ब्यूँताएर सभामुखले असंवैधानिक र गैर कानुनी काम गराएको उहाँको भनाई छ ।