गठबन्धनबारे माओवादी र दुई समाजवादीले काँग्रेसको बैठक कुर्नुपर्ने

काठमाण्डौँ । वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीलगायतले नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक कुर्नुपर्ने भएको छ ।

 

सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतले नेकपा (एमाले) विरुद्ध सबै एकजुट भएर गठबन्धन गर्नुपर्ने दबाव दिइरहेका बेला काँग्रेसले केन्द्रीय समितिबाट टुङ्गो लगाउने तयारी गरेको हो ।

कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलनमार्फत केन्द्रीय समिति बैठकले निर्णय नगर्दासम्म कांग्रेसका कार्यकर्तालाई गठबन्धनको विषयमा कुनै निर्देशन वा आग्रह नगरिने बताउनुभयो ।

उहाँले गठबन्धन हुन्छ कि हुँदैन ? भनेर अहिले नै छलफलको विषय नबनाइएको बताउनुभयो ।

कांग्रेसले फागुन २९ गतेदेखि एक महिनासम्म सञ्चालन गर्ने चुनाव प्रचार अभियानका विषयमा गठबन्धनको विषयमा कुनै कुरा नगरिने उपसभापति खड्काले बताउनुभयो ।