प्रतिनिधि सभाः महाअभियोगको प्रस्ताव पेश गर्ने तयारी

काठमाडौं । आज बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्ताव पेश गर्ने तयारी भएको छ ।

फाइल तस्बिर

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा संविधानको धारा १०१ को उपधारा २ एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम २ बमोजिम प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण हुने उल्लेख छ ।

बैठक दिउँसो १ बजेपछि संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । त्यसअघि सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले समितिको २१ औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

प्रधानन्यायाधीश राणाविरुद्ध माओवादीका प्रमुख सचेत देवप्रसाद गुरुङ,कांग्रेस सचेतक पुष्पा भुसाल र नेकपा एसका प्रमुख सचेतक जीवनराम श्रेष्ठ प्रस्ताव र ९५ जना सांसदहरु समर्थक रहेर गत फागुन १ गते महाअभियोगको प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए ।