सबै जिल्लामा काँग्रेसका अधिवेशन सम्पन्न, देउवाको बहुमत

काठमाडौं । सबै जिल्लामा नेतृत्व चयन भएसँगै सत्तारुढ दल नेपाली काँग्रेसले ७७ वटै जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । करिब ६ वर्षको अन्तरालमा गरिएको अधिवेशनले सबै जिल्लामा नेतृत्व स्थापित गरेको हो ।

फाइल तस्बिर

सभापति देउवा पक्षले ४४ जिल्लामा सभापति जित्दा शेखर कोइराला पक्षले ३३ जिल्लामा सभापति जितेको छ । यस पटकको अधिवेशनमा काँग्रेसभित्र परम्परागत गुटहरु भत्किए भने नयाँ समूह बनेकाे थियो ।

सभापति शेरबहादुर देउवा र शेखर कोइराला दुबै पक्षले कतिपय जिल्लामा एउटै उम्मेदवार बनाउन नसक्दा आपसमै प्रतिष्पर्धा भएको थियो । गत मंसिरमा १४ औं केन्द्रीय महाधिवेशन सम्पन्न गरेको काँग्रेसले महाधिवेशन अगाडि ६१ जिल्लामा मात्र अधिवेशन सम्पन्न गर्न सकेको थियो । बाँकी १६ जिल्लाका अधिवेशन भने हालै सकाएको हो ।

६१ जिल्ला अधिवेशन सम्पन्न गर्दा देउवा र रामचन्द्र पौडेल पक्ष बनेर देशभर प्रतिष्पर्धा गरेका काँग्रेसीहरु महाधिवेशनमा देउवासँग कोइराला भिडेपछि बाँकी जिल्लामा देउवा–कोइराला पक्ष बनेर मैदानमा उत्रिएका थिए ।

महाधिवेशनमा कृष्णप्रसाद सिटौलाले देउवालाई सघाउँदा उम्मेदवारी नपाएपछि पौडेल मौन बस्नुभएको थियो । पहिलो चरणमा देउवा, कोइराला, बिमलेन्द्र निधि र प्रकाशमान सिंहबीच सभापतिमा प्रतिष्पर्धा भएको थियो ।

दोस्रो चरणमा देउवा र कोइरालाबीच प्रतिष्पर्धा हुँदा निधि र सिंहले देउवालाई समर्थन गरेकाले उहाँ विजयी बन्नुभएको थियो । सिटौला, निधिसहित सभापति देउवा पक्षमा ४४ जिल्ला सभापति विजयी हुँदा कोइराला पक्षले ३३ जिल्लामा सभापति जितेका छन् ।