‘हरहराउँदो कृषिकर्म’ (भिडिओ)

सुर्खेत । सुन्दर भु–बनोट, हरियाली वातावरण, रहरलाग्दो खेतीबाली र भरलाग्दो कृषिकर्म । आहा कस्तो गज्जव ! यो कृषि तथा पशुपालन फर्म सिम्ता गाउँपालिका वडानम्बर ७ का वीरेन्द्रकुमार घर्तीको हो ।

साढे ३ रोपनी जग्गाबाट सुरु गरेको व्यवसायिक तरकारी खेति अहिले १९ रोपनीमा विस्तार भएको छ । हुन त कृषि फर्म कृषिकर्म र उत्पादनको लागि हो । निकै व्यवस्थित र लोभलाग्दो यो फर्ममा पुगिसकेपछि जोकोहिलाई घुमौँ घुमौँ लाग्छ । व्यावसायिक कृर्षिकर्ममा व्यस्त घर्तिले हाम्रो अनुरोधलाई स्वीकार गर्नुभयो र फर्ममा घुम्ने मौका मिल्यो ।

कृषि तथा पशु फर्ममा घुमेपछि त झन हामीलाई घर्तिसँग कुराकानी गर्ने चाहना बढ्यो । एकैछिन् टुसुक्क अलिमा बसेर उहाँसँग गफिनुको मज्जा नै बेग्लै ।

कुराकानी गर्दै गर्दा पो थाह भयो । कि उहाँको जीवन साँच्चिकै प्रेरणादायी रहेछ । उहिले तरकारी बेच्दै पढ्नुको बाध्यता र पछि आफै तरकारी उत्पादन गरेर त्यही विद्यालयमा समेत विक्री गरेको अनुभव घर्तिसँग छ ।

घर्तिले व्यावसायिक रुपमा फर्म चलाउँदा पहिला सहज भने पक्कै थिएन । तर उहाँको लगनशीलता, इमानदारिता र स्थानीय सरकारको साथले प्रतिकुलतालाई अनुकुलतामा बदलिदियो ।

भनिन्छ नि, कर्मको फल मिठो हुन्छ । अहिले सिम्ता गाँउपालिकाको कार्यालय, कृषि विकास कार्यालयलगायत सरोकारवालाहरुको अनुदान सहयोगमा १२ वटा टनेलमा समेत घर्तिले तरकारी खेती गरिरहनु भएको छ ।

अहिले तरकारी बेच्नको लागि आफैले पसल समेत गर्नुभएको घर्तिले उत्पादनको ६० प्रतिसत तरकारी गाउँमै बेच्नुहुन्छ भने बाँकी सिम्ताबाहिरका व्यापारीले खरिद गर्छन् । तरकारी बेचेर मात्र वार्षिक कम्तिमा ४ देखि ५ लाख अम्दानी भइरहेको छ । आम्दानीको ३० देखि ४० प्रतिसत रकम घर्तिले पुनः तरकारी खेतीमै लगानी गर्नुहुन्छ ।

घर्ति एक प्रतिनिधिमुलक पात्र हुनुहुन्छ । सिम्ता गाउपालिकासँगको सहकार्य तथा साझेदारीमा धेरै नागरिकहरु आत्मनिभर बन्दै मनग्य आम्दानी गर्न विस्तारै सफल हुँदैछन् । यहाँका धेरैजसो मानिसहरु तरकारी खेती, खसीबाख्रा पालन तथा कुखुरापालन लगायत काममा व्यस्त रहेका देखिए ।
खासगरी घरको गर्जो टार्नकै लागि यसअघि भारतलगायत मुलुकमा पुगेर श्रम गर्न बाध्य सिम्ताली नागरिकहरु अब आफ्नै गाउँमा व्यावसायिक कृषि तथा पशुपंक्षीपालनमा आकर्षित हुन थालेको देखिन्छ । सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले पटक पटक कृषकहरुलाई भेटेर प्ररितसमेत गर्दा अझै ऊर्जा पैदा हुने गरेको कृषकहरुको भनाई छ ।

घर्तिको यो काम हेरिसके पछि हामीलाई पनि अत्यन्तै खुसि लाग्यो । परिवारमा एक्लैले गरेको यो हिम्मत र हातपाखुरा चलुञ्जेल काम गर्ने उहाँको अठोट सुन्दा छुट्टै प्रकारको जोस र जाँगर पैदा भयो ।

उज्यालो सिम्ता, पहुँच मार्ग र जनतासँग सिम्ता गाउँपालिकामध्ये सिम्ता गाउँपालिकाले लिएको तीनवटा लक्ष्यमध्ये कृषिलाई महत्वपूर्ण स्थान दिई जनतासँग सिम्ता गाउँपालिका शीर्षकको लक्ष्यभित्र राखेको छ ।

हेर्नुहोस् भिडिओः

सिम्ताः उहिले–अहिले, भाग – 7 | ‘हरहराउँदो कृषिकर्म’ Simta Uhile Ahile – YouTube