माओवादी पनि बहुपदीय मोडलमा, १५ पदाधिकारी रहने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) बहुपदीय संरचनामा जाने भएको छ । कम्युनिष्ट पार्टीमध्ये यसअघि नेकपा (एमाले) ले मात्र अभ्यास गरेको बहुपदीय प्रणाली अब माओवादी केन्द्रमा पनि लागू हुने भएको हो ।
आठौं राष्ट्रिय महाधिवेशनकै दिन बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकले विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्षसहित १५ जना पदाधिकारी निर्वाचित गर्ने निर्णय गरेको हो ।
अब माओवादीमा एकजना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एकजना कोषाध्यक्ष रहने व्यवस्था विधानमा गरिएको छ ।
वरिष्ठ उपाध्यक्ष र उपमहासचिवको व्यवस्था यसअघि माओवादीमा थिएन । कोषाध्यक्ष भने एमालेमा अभ्यास छैन ।