सुर्खेत । स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेकपा (एमाले) का अध्यक्ष केपी ओली देश दौडाहमा रहनुभएको छ । निर्वाचन लक्षित राजनीतिक क्रियाकलापलाई बढवा दिएको एमालेले विभिन्न ठाउँमा नेता कार्यकर्ता प्रवेश र पार्टी समायोजनको काम गरिरहेको हो ।
यसैक्रममा एमालेले कर्णाली प्रदेशका विभिन्न जिल्लामा ओलीबाट सम्बोधन हुने कार्यक्रमको आयोजना गरिरहेको छ । कर्णालीका विभिन्न जिल्लामा चुनाव लक्षित आमसभलाई सम्वोधन गर्ने र कर्णालीमा ठूलो संख्यामा विभिन्न दलका नेता कार्यकर्तालाई एमाले प्रवेश गराउने एमालेले जनाएको छ ।
एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार अध्यक्ष ओली चैत १७ गते जुम्लाको सिंजा तथा कालिकोटको मान्ममा आयोजना गरिएको आमसभामा सहभागि हुने कार्यक्रम तय भएको छ । त्यहाँ विप्लव समूहसहित विभिन्न दल परित्याग गर्ने सयौं कार्यकर्तालाई एमालेमा प्रवेश गराउने तयारी भइरहेको छ ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओली वैशाख ४ गते हुम्लामा पुग्ने कार्यसूची छ । हुम्लाको सिमकोट र अदानचुली गाउँपालिकाको श्रीनगरमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्ने एमाले स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीले जानकारी दिनुभयो ।
खबर बजार । १२ चैत्र २०७८, शनिबार ०७:१५