दैलेख । दैलेखको गुराँस गाउँपालिकामा नेकपा (एमाले) गाउँ कमिटी गुराँसले तालाबन्दी गरेको छ । गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम भन्दा बाहिर गएर आफू खुसी पाइप, जाली, सिरक डसनालगायत व्यक्ति व्यक्तिलाई वितरण गर्ने गरेको भन्दै तालाबन्दी गरिएको एमाले गुराँसले जनाएको छ ।
गाउँ कमिटीका अध्यक्ष हिमबहादुर ओलीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘गुराँस गाउँपालिकामा अध्यक्षलाई आफु खुसी काम नगर्न र काम गर्ने भए वडा अध्यक्षको समन्वयमा काम गर्न ध्यानाकर्षण पत्र बुझाएको भए पनि निर्णय अबज्ञा गर्दै सम्बन्धित वडाका वडा अध्यक्ष र कार्यपालिकाको निर्णय विपरीत ब्यतिगत ढङ्गले कार्यकर्ता केन्द्रित पाइप,जाली वितरण गरेको र बिहीबार गुराँस आधारभूत विद्यालय रानिमत्ता बाट लत्ता कपडा, मेसिन, फिल्टरलगायत बन्दोबस्तीका सामग्री, अपारदर्शी ढङ्गले कहाँ लिन खोजिएको हो ? सो को जानकारी नगरी शङ्कास्पद ढङ्गले गाडीमा लोड गरेको अवस्थामा सार्वजनिक सम्पत्ति संरक्षण गर्ने दायित्व ठानी तालाबन्दी गरिएको छ ।’
पटक पटक सार्वजनिक सम्पत्ति दोहन र दुरुपयोग गर्ने, कार्य नरोके सम्म गाउँपालिकामा तालाबन्दी गरी चरणबद्ध आन्दोलनका कार्यक्रम अगाडी बढाउने उल्लेख गरिएको छ ।
यता, गुराँस गाउँपालिकाको कार्यालयले विज्ञप्ति प्रकाशन गरी नेकपा (एमाले) गुराँस गाउँ कमिटीले गरेको तालाबन्दीको भर्त्सना गरेको छ ।
गाउँपालिकाका अध्यक्ष खेमराज ओलीद्वारा जारी गरिएको विज्ञप्तिमा गाउँ सभाबाट स्वीकृत कार्यक्रम अनुसार नै काम गरिरहेको र गाउँपालिकाले गरेको लोकप्रिय कार्यक्रमबाट विचलित भएर यस्तो हर्कत गरेको दाबी गरिएको छ ।
एमालेका कार्यकर्ताले गाउँपालिकामा तालाबन्दी गर्दा प्रहरी समेत मुख दर्शक बनेको भन्दै गाउँपालिकाले गम्भीर आपत्ति प्रकट गर्दै दोषी उपर कारबाहीको माग गरेको छ ।
खबर बजार । ११ चैत्र २०७८, शुक्रबार १८:४८