

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री र प्रदेशसभाका पदाधिकारी तथा सांसदहरुको पारिश्रमिक बढाउनु प्रतिकूल निर्णय भएको बताएको छ।यो निर्णय जनसमर्थन योग्य नभएको समेत नेकपा एमाले संसदीय दलका नेता एवं कर्णाली प्रदेश इन्चार्ज यामलाल कंडेलले बताउनुभएको छ ।
उहाँले कार्यकाल सकिनै लाग्दा पारिश्रमिक बढाउनु राम्रो काम नभएको बताउँदै यो प्रतिकूल रहेको दाबी गर्नुभयो । मिडियामा आएपछि मात्रै सेवा–सुविधा वृद्धि भएको कुरा जानकारीमा आएको बताउदै यसबारेमा सरकारले आफुहरुसँग कुनै पनि सल्लाह नगरेको नेता कंडेलले बताउनुभयो ।
उहाँले देशै आर्थिक संकटोन्मुख भएको समयम सेवा–सुविधा बढाउने निर्णय भएको बताउदै जनसमर्थन योग्य विषय नभएको र जनप्रतिनिधिलाई जनताले नकारात्मक हिसाबले हेर्दै आइरहेको समयमा यसले सकारात्मक सन्देश दिने अपेक्षा गर्न नसकिने बताउनुभयो ।
के कारणले आर्थिक वर्ष सकिनै लाग्दा तलब सुविधा बढाइएको हो, त्यसबारेमा सरकारलाई नै प्रश्न सोध्न उहाँले आग्रह गर्नुभयो ।
कर्णाली प्रदेश सरकारले मासिक लाखौं व्ययभार पर्ने गरी कर्णाली प्रदेशका मुख्यमन्त्रीसहित आठ जना मन्त्री र प्रदेशसभाका पदाधिकारीसहित २७ जनाको तलब र सेवा सुविधा वृद्धि गरेको हो ।

खबर बजार । २ बैशाख २०७९, शुक्रबार १३:५५