स्थानीय निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

काठमाडौं । आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख बढी मतदाता हुने भएका छन् ।

निर्वाचन आयोगले आइतबार अन्तिम मतदाता नामावली तय गरेको हो । जसअनुसार ३० वैशाखको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् ।

जसमध्ये ८९ लाख ९२ हजार १० जना पुरुष मतदाता छन् भने महिला मतदाताको संख्या ८७ लाख ४१ हजार ५३० जना रहेको छ। त्यस्तै अन्यमा १८३ जना मतदाता छन् ।

आयुक्त रामप्रसाद भण्डारीका अनुसार सबभन्दा बढी मतदाता मोरङमा ७ लाख १५ हजार २२३ जना रहेका छन भने सबभन्दा कम मनाङमा ६ हजार ४९६ मतदाता छन् ।

आयोगले ७५३ वटै स्थानीय तह र ७७ वटै निर्वाचन कार्यालयको समन्वयमा अन्तिम मतदाताको सूची तयार पारेको हो । अन्तिम नामावली प्रकाशन भएपछि सूचीबाट नाम हेरफेर गर्न नपाइने आयोगले जनाएको छ।