लोसपा केन्द्रीय कार्यकारिणीको पहिलो बैठक भोलिदेखि

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पहिलो पटक केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बबरमहलस्थित लोसपा केन्द्रीय कार्यालयमा भोलिदेखि बस्ने बैठकले स्थानीय तहको निर्वाचन, पार्टीको आन्तरिक संगठन र चुनावी गठबन्धनलगायतका बारेमा छलफल गर्नेछ ।

उपेन्द्र यादव समूहसँग अलग भएयता पहिलो पटक कार्यकारिणी समितिको बैठक बोलाइएको र बैठकले स्थानीय तहको निर्वाचनदेखि अन्य समयसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यकारिणी सदस्य केशव झाले बताउनुभयो ।

उहाँका अनुसार देशैभरको परिस्थिति बुझेर आएका २८ जना नेताले बैठकमा आफनो धारणा राख्नेछन् । उपेन्द्र यादवसँग अलग हुँदा ३१ जना कार्यकारिणी सदस्य भए पनि लोसपासँग अहिले २८ जना मात्रै बाँकी छन् ।

बृषेशचन्द्र लालले तराई-मधेस लोकतान्त्रिक पार्टी ब्यूँताएर अलग्गै राजनीति गरिरहनुभएको छ भने राजकुमार लेखी नेकपा (एमाले) मा प्रवेश गरिसक्नुभएको छ ।

हाल जेलमा रहेका रेशमलाल चौधरी बैठकमा आउने अवस्था नभएकाले बैठकमा २८ जना मात्रै सहभागी हुनेछन् ।