

सुर्खेत । नेकपा एमाले सुर्खेतले यहाँका ३८ वटा वडाहरुमा स्थानीय तहको निर्वाचनका लागि सर्वसम्मत उम्मेद्वारहरुको टुंगो लगाएको छ । जिल्ला कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सिनाका अनुसार एमालेले सुर्खेतका ९९ वटा वडा मध्य हालसम्म ३८ वटा वडाहरुमा सर्वसम्मत उम्मेद्वारहरुको टुंगो लगाएको हो ।
उहाँले १५ वटा वडाहरुले उम्मेद्वारहरु सिफारिस गरिएको बताउनुभयो । शनिबार बसेको जिल्ला कमिटीको बैठकले बाँकी वडाहरुलाई वैशाख ६ गतेसम्म उम्मेद्वार सिफारिस गरिसक्न निर्देशन दिएको छ । साथै बैठकले निर्वाचनमा पार्टीपंक्तिलाई एकताबद्ध र आत्मविश्वासका साथ अभियानमा लाग्न पनि निर्देशन दिएको छ । बैठकले पार्टीले उठाउनुपर्ने उम्मेद्वारहरुको निर्णय सचिवालय बैठकले गर्ने गरी अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको छ ।
यस्तै प्रत्येक पालिकाले ५ देखि ७ जनासम्म सदस्य रहेको प्रचार तथा प्रसार समिति गठन गरि निर्वाचन प्रचारप्रसार कार्यलाई ब्यबस्थित गर्न पालिका कमिटीलाई निर्देशन दिएको प्रचार विभाग प्रमुख तिमिल्सिनाले जानकारी दिनुभयो ।
यस्तै जिल्ला कमिटीमा मनोनीत गरिएका सात जनालाई सदस्यहरुलाई अध्यक्ष अमृत बहादुर बिसिले सपथग्रहण गराउनुभएको छ । बैठकमा जिल्ला इन्चार्ज नबराज रावत , जिल्ला सह – इन्चार्ज मोहनमाया ढकाललगायतको सहभागिता रहेको थियो ।
यसैविच, देशका लागि पाँच दलिय गठवन्धन स्वार्थको गठजोड भएकाले यसले देशलाई नै घाटा हुने एमाले सुर्खेतले निष्कर्ष निकालेको छ । गठबन्धन गलगाण, अपबित्र र सत्ता स्वार्थको गठजोड भएको भन्दै एमाले सुर्खेतले यसलाई परास्त गर्न सम्पूर्ण पार्टी पक्ति एकतावद्ध भएर विजयको अभियानमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको हो ।
शनिवार नेकपा एमाले सुर्खेतले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै तेस्रो पूर्ण वैठकले सुर्खेतका नौ वटै स्थानीय तहका अध्यक्षहरुले राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

खबर बजार । ४ बैशाख २०७९, आईतवार ०६:५९