सुर्खेतमा नील हिरा समाजको प्राइड परेड

सुर्खेत। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि काम गर्दै आएको नील हिरा समाजले आज सुर्खेतमा ‘प्राइड परेड’ गरेको छ ।

यौनिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिले जुन महिनालाई गौरवको महिनाकोरुपमा विश्वभर मनाउँदै आएका छन् । यही क्रममा सोमबार आज सुर्खेतमा परेड गरिएको हो ।

सन् १९६९ मा अमेरिकाको न्युयोर्कमा रहेको एउटा बारमा समलिङ्गीहरुको जमघटमा प्रहरीले गरेको क्रुरताविरुद्धको आन्दोलनमा मारिनेहरुको सम्झनामा जुन महिनालाई गौरवको महिनाको रुपमा मनाउने गरिन्छ ।

नेपाल यौनिक तथा अल्पसङ्ख्यक समुदायको अधिकारलाई संविधानमै सम्बोधन गर्ने विश्वको चौथो तथा दक्षिण एसियाको पहिलो देश हो । नेपालको संविधान २०७२ को धारा १२, १८ र ४२ मा यौनिक तथा अल्पसङ्ख्यक समुदायको पहिचान सहितको नागरिकता, समानताको हक र सामाजिक न्यायको हक प्रदान गरेको छ ।