काँग्रेसका कार्यकर्ता कुटेको आरोपमा वाइसीयल कार्यकर्ता पक्राउ

सुर्खेत । रुकुम पश्चिम र सल्यानमा काँग्रेसका कार्यकर्ता कुटेको आरोपमा नेकपा माओवादी केन्द्रका तीन जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रोल्पाका प्रकाश केसी, रुकमपश्चिमका विशाल वली र प्रेम प्रकाश वली रहनु भएको छ ।


२३ वर्षीय केसी गंगादेव गाउँपालिका–५ कुईन्यौटा रोल्पाका हुन भने २३ र १८ वर्षीय वलीद्वय आठबिसकोट नगरपालिका–१० का रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिनुभयो ।

रोल्पामा सोमबार तरुण दल र वाइसीयल कार्यकर्ताविच झडपहुँदा तरुण दलका दुई जना कार्यकर्ता घाइते भएका हुन् । उहाँकाअनुसार सोमबार २६ गते राती कुईन्यौटामा वाईसियल र तरुणदलबिच झडप हुँदा तरुण दलका कार्यकर्ताविच झडप भएको थियो ।

झडपमा केसीले खुकुरी प्रहार गर्दा तरुण दलका कार्यकर्ता ३० वर्षीय मानबहादुर बुढा र २० वर्षीय कमल बुढा घाइते भएको प्रवक्ता पाण्डेले बताउनुभयो । घटना लगत्तै केसी फरार रहेको र सल्यानको बागचौर नगरपालिका–२ थारमारेमा लुकेर बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको पाण्डेले जानकारी दिनुभयो ।

यता, सोमबार राती रुकुम पश्चिम आठबिसकोट नगरपालिका–१० घारीखोलामा वाइसीयल कार्यकर्ताले नेपाली कांग्रेसले प्रचारप्रसारमा प्रयोग गरेका सवारी तोडफोड गरेको आरोपमा प्रहरीले वलीलाई पक्राउ गरेको हो ।

काँग्रेसबाट आठबिसकोट नगरपालिका–१० का वडा अध्यक्ष उम्मेद्वार चक्र कुसारीले रिजर्ब गरेको लु १ ज २६६१ नम्बरको जीप, रा ४ प १८७० र भे ७ प ३०६५ नम्बरको मोटरसाईकल रोकिराखेको अवस्थामा १० जनाको संख्यामा आएका वाइसीयल कार्यकर्ताले आगजनी र तोडफोड गरेर फरार भएको प्रवक्ता पाण्डेको भनाई छ । पक्राउ परेका तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।