सुर्खेतका १७ वडाको नतिजा आउँदा कांग्रेस अगाडि

सुर्खेत । शुक्रवार सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत सिम्ता गाउँपालिका बाहेक सुर्खेतका ८ स्थानीय तहमा मतगणना जारी छ । मतगणना जारी हुँदै गर्दा नतिजा सार्वजनिक हुने क्रम जारी छ । नौ वटा स्थानीय तहमा ९९ वडा रहेको सुर्खेतममा ९० वडाको मतगणना जारी छ ।

फर्जिमत भेटिएको भन्दै सिम्तामा मत गणना रोएिको छ । सिम्ताको भगवति माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको मत्रपत्र भेटिएपछि मतगणना रोकिएको हो । सो मतदान स्थलमा आज मतदान हुनेछ । जिल्लाभर १७ वडाको नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेसले ८ वडामा जित हासिल गरेको छ ।

यस्तै, नेकपा (एमाले)ले ६ वडामा जित हासिल गर्दा माओवादीले तीन वडामा विजयी भएको छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा नेपाली कांग्रेसले तीन वटा वडा जितेको छ । काग्रेसले २, १० र ११ वडामा जित हासिल गरेको हो । वडा नं. २ मा कांग्रेसका यामबहादुर बिसीले सात सय २५ मत ल्याउदै एमालेका टिकाकुमारी रानालाई पराजित गर्नुभयो भने रानाले पाँच सय ९४ मत प्राप्त गर्नुभयो ।

यस्तै वडा नं. ११ मा कांग्रेसकै धनबहादुर माझीले माओवादीका प्रेम विकलाई हराउनुभएको छ । माझीले विकलाई चार सय ५२ मत प्राप्त गरेर विजयी हुनुभयो । यस्तै वडा नं. १० मा हरिप्रसाद ढकाल ६ सय ६१ मतले विजयी हुँदा एमालेका सुरेशप्रसाद शर्माले तीन सय १७ मत प्राप्त गरी पराजित हुनुभयो ।

यस्तै पञ्चपुरीमा एमाललेले वडा नं. १ मा जित हात पारेको छ । एमाललेका कर्णबहादुर थापाले चार सय ७९ मत प्राप्त गरी कांग्रेसका बुदे साउनलाई पराजित गर्नुभयो । साउनले तीन सय ६३ मत पाउनुभएको थियो ।

यस्तै, बराहतालमा माओवादीले दुई वटा वडामा जित हात पारेको छ । वडा नं. १ मा दुई सय ८७ मतका साथ बमबहादुर बडुवाल विजयी हुनुभयो भने एमालेका यसबहादुर दर्लामीमगरले दुई सय २२ मत प्राप्त गरी पराजित हुनुभयो । वडा नं. ४ मा प्यानलसहित विजयी भएको माओवादीबाट वडाध्यक्ष पदका उम्मेदवार बनेका विर्ष बडुवालले नेपाली कांग्रेसका दिर्घबहादुर कठायतलाई पाँच सय चार मतले पराजित गर्नुभएको छ । कठायतले तीनसय ८५ मत प्राप्त गरी पराजित हुनुभयो ।

यस्तै, एमाले र कांग्रेसले पनि बराहतालमा १÷१ वडामा विजयी भएका छन् । वडा नं. २ मा एमालेका भिमबहादुर सावदले ६ सय ५६ मत प्राप्त गरी विजयी हुँदा माओवादीका डिलबहादुर नेपाली चार सय ४५ मतले पराजित हुनुभएको छ ।

वडा नं. ३ मा काग्रेसका शेरबहादुर पुनमगरले दुई सय २२ मत प्राप्त गरी माओवादीका दत्तबहादुर बरालमगरलाई पराजित गर्नुभएको छ । यस अघिका वडाध्यक्षसमेत रहेका बरालमगरले एक सय ७८ मत प्राप्त गरी पराजित हुनुभएको छ ।

प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगरमा कांग्रेस र एमालले समान १÷१ वडामा जित हात पारेका छन् । कांग्रेसका दिनेश खत्रीले एक हजार चार सय ८५ मत प्राप्त गरी एमालेका गंगाराम सुनारलाई पराजित गरेर १ नम्बर वडाध्यक्षमा विजयी हुनुभएको छ । एक हजार चार सय ४४ मत प्राप्त गरेका सुनार यस अघिका वडाध्यक्षसमेत हुनुहुन्थ्यो ।

यस्तै निर्वतमान वडाध्यक्ष पूर्णबहादुर ढकाललाई हराउँदै वीरेन्द्रनगर १६ मा डण्डप्रसाद विकले जित हात पार्नुभएको छ । विकले ६ सय ८ मत प्राप्त गरेका थिए भने, ढकालले पाँच सय ८३ मत प्राप्त गरी पराजित हुनुभयो । पूर्वि सुर्खेतको गुर्भाकोट नगरपालिकामा एमालेले दुई वडा र कांग्रेसले एक वडामा जित हात पारेको छ । गुर्भाकोट नगरपालिका १ मा एमालेका रामबहादुर शाहीले ६ सय ८३ मत प्राप्त गरी कांग्रेसका ओविलाल थापालाई पराजित गर्नुभयो भने थापाले पाँच सय ७५ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै वडा नं. १४ मा पनि एमालेका चन्द्रबहादुर घर्तिले सात सय ३६ मत प्राप्त गरी कांग्रेसका भुपालसिंह गुरुङ्गलाई पराजित गर्नुभयो । वडा नं. १३ जितेको कांग्रेसले एमालेका इन्द्रदेव गिरीलाई एकसय ९५ मतले पराजित गर्दा कांग्रेसकी मधु गरुङ्ग एक हजार दुई सय ८६ मत प्राप्त गरी विजयी हुनुभयो ।

यस्तै भेरीगंगामा कांग्रेसले दुई वडा जितेको छ भने माओवादीले एक वटा वडामा जित हासिल गरेको छ । १ र ३ नं. वडामा जित हासिल गरेको कांग्रेसका दिनेश पुलामी मगरले वडा नं. १ मा तीन सय ३३ मत प्राप्त गरी विजयी हुँदा माओवादीकी सम्झना कार्कीले तीनसय २६ मत प्राप्त गरी पराजित हुनुभयो । यस्तै वडा नं. ३ मा कांग्रेसका जीतबहादुर सुनारले ६ सय ८ मत प्राप्त गरी विजयी हुँदा एमालेका विशाल पुनले पाँच सय २९ मत प्राप्त गरी पराजित हुनुभयो ।

यस्तै, वडा नम्बर २ मा माओवादीका चिरन्जीवि बुढा पाँच सय सात मत प्राप्त गरी विजयी हुँदा कांग्रेसका करसिंह रावतले चार सय ४९ मत प्राप्त गर्नुभएको छ । चिङ्गाडमा एमाले र कांग्रेसले समान १÷१ वडामा जित हासिल गरेका छन् । वडा नं. १ मा एमालेका टेकबहादुर वलीले ६ सय ८२ मतले विजयी हुँदा कांग्रेसका वीरबहादुर वली चार सय २४ मत प्राप्त गरी पराजित हुनुभयो । यस्तै वडा नं. २ मा कांग्रेसका प्रेमबहादुर खड्का ६ सय ९५ मत प्राप्त गरी विजयी हुनुभयो । ६ सय ५६ मत प्राप्त गरेका डिलबहादुर खत्री खड्कासँग पराजित हुनुभएको छ ।