भरतपुरकाे मेयरमा दाहाल निर्वाचित

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल विजयी हुनुभएको छ । एमाले उम्मेदवार विजय सुवेदीलाई १२ हजारभन्दा बढी मतले हराउँदै दाहाल भरतपुरको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।


सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल १२ हजार ४ सय ४९ मतान्तरले विजयी हुनुभएको हो । भरतपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रूपमा निर्वाचन परिणाम भने अझै सार्वजनिक गरेको छैन ।

प्राप्त विवरणअनुसार दाहालले ५२ हजार ३० मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका सुवेदीले ३९ हजार ५ सय ८१ मत ल्याउनुभयो । उमपेयरमा पनि सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी हुनुभयो ।

अधिकारीले ५२ हजार ८ सय ३ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरूङले ३० हजार ६ सय १२ मत ल्याउनुभयो । हिमलालाई एमालेको समर्थन थियो । मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको १४ हजार ७ सय २८ मत आएको छ ।