

काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलमा राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभा र प्रदेशसभातर्फ आफूले पाउनुपर्ने सिट संख्या तोकेर लिखित रुपमै प्रस्ताव पेश गरेको छ । गठबन्धनका अन्य दलले बाहिर बाहिर दावी गरे पनि कार्यदलमा आफूहरुले मात्र प्रस्ताव लगेको राष्ट्रिय जनमोर्चाका केन्द्रीय सचिव हिमलाल पुरीले बताउनु भयो ।
राजमोबाट कार्यदलमा हिमलाल पुरी र आनन्द शर्मा हुनुहुन्छ । कार्यदलले साउन मसान्तभित्र काम सक्ने भने पनि अहिलेसम्म सिट बाँडफाँटमा प्रवेश नै नगरेको र शीर्ष नेताका तहमा छलफल भइरहेको हुनसक्ने पुरीले बताउनु भयो ।
राष्ट्रिय जनमोर्चाले भने प्रतिनिधिसभातर्फ २ सिट र प्रदेश सभामा ४ सिट पाउनुपर्ने प्रस्ताव गरेको छ । पुरीका अनुसार बागलुङ १ र प्युठानको प्रतिनिधिसभामा राजमोको दावी रहेको छ ।
त्यस्तै प्रदेशसभा तर्फ बागलुङ,अर्घाखाची,दाङ र गुल्मीमा एक एक सिट दावी गरिएको पुरीले बताउनु भयो ।
स्थानीय तहको मतको समेत आधार बनाएर आफूहरुले अन्य प्रदेशबाट पनि रिपोर्ट मगाएको पुरीले बताउनु भयो । यता वामदेव गौतम प्युठानमा चुनाव लड्ने भन्दै माओवादीबाट गठबन्धनमा छिरेकोमा पनि राजमोले आपत्ति प्रकट गरेको छ । उनका लागि प्युठान छाड्न नसकिने राजमोले प्रष्ट पारेको छ ।
कार्यदल सदस्य राजमोका सचिव पुरीले वामदेवको राजनीति नबुझिएको भन्दै के आधारमा उहाँले प्युठान दावी गरेको भन्ने आफूहरुलाई जानकारी नभएको बताउनु भयो । उहाँले वामदेवको राजनीति नै प्रष्ट नभएको र जनमत तथा वैचारिक राजनीतिक कुनै पनि आधारमा उहाँका लागि प्युठान छाड्न नसकिने बताउनु भयो ।

खबर बजार । ४ भाद्र २०७९, शनिबार १२:४८