कांग्रेस पार्टीलाई अहिले दल्न मिल्छ पेल्न मिल्छ भनेर सोचियो भने परिणाम फरक आउने छ :गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनमा आबद्ध दलले नै कांग्रेसलाई राष्ट्रघाति भनेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । कांग्रेसलाई गठबन्धनकै दलका नेताले दलाल, राष्ट्रघाती भन्ने गरेकाले कि गठबन्धन छाड्न कि न्युनतम समझदारी गर्न थापाले आग्रह गर्नुभयो ।

थापाले नेपालमा यदि चुनावभन्दा अगाडि तालमेल गरेर जाने हो भने तालमेल के का लागि गर्ने ? किन गर्ने ? भन्दै प्रश्न गर्नुभयोे । ‘तालमेल गरेर एकै ठाउँमा बसेको छ, प्रत्येक विषयमा चाहिँ, चाहे विदेश नीतिको विषय आयो भनेपनि एउटाले अर्कोलाई दलाल–दलाल भनेको छ। अनि हामीलाई पनि दलाल पनि भनेको छ सँगैपनि बसेको छ। दलाल हो भने त सँगै बस्नु भएननी त। कुनै एउटा विषयमा राष्ट्रघाति भनेको छ अनि साँच्चिकै हामी राष्ट्रघाति हो भने त राष्ट्रघातिसँग बस्नु भएननी त ! थापाले भन्नुभयो, ‘न्युनतम कुरामा पनि हाम्रो कुरा मिल्दैन भने हामी सँगै बस्नु हुँदैन। कि न्युनतम कुराको बारेमा गफ नगर्ने खाली चुनाव मात्रै जित्ने यो भएन। निर्वाचनमा जाने भनेको त न्युनतम विषयमा साझा अवधारणा लिएर जनतामा जानुपर्छ।’

आफूले निर्वाचन अगाडि तालमेल गर्नुहुँदैन भनेपनि अरुले तालमेल गर्ने भएकाले कांग्रेसले गर्नुपरेको बताउनु भयो । थापाले निर्वाचनमा जनतामाझ जाँदा विदेशी नीतिको विषयमा साझा धारणा बनाएर अगाडि बढ्नुपर्ने धारणा राख्नु भयो ।

थापाले नेपाली कांग्रेसको संगठनात्मक अवस्था, भर्खरको स्थानीय चुनाव र हाम्रा मतदाताको मनोविज्ञान गठबन्धन दलले बुझेनन् भने परिणाम राम्रो नआउने चेतावनी समेत दिनुभयो। कांग्रेस पार्टीलाई अहिले दल्न मिल्छ, पेल्न मिल्छ भनेर सोचियो भने परिणाम फरक आउने बताउनु भयो ।

उहाँले जनतामा निराशा पैदा भएको समेत उल्लेख गर्नुभयो । उहाँले आम जनजीविका, शिक्षा, स्वास्थ्य र साना कुरामा परिवर्तन देख्न नपाएकाको भन्दै निराशा पैदा भएको बताउनु भयो । गठबन्धनको नेतृत्व कांग्रेसले गरेकाले जिम्मेवारी पनि लिनुपर्ने बताउनु भयो ।