चुनावपछि शासन व्यवस्था फेर्न सडकमै जाने प्रचण्डको घोषणा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावपछि शासन व्यवस्था फेर्न सडकमै जाने घोषणा गर्नुभएको छ ।

आइतबार काठमाडौंमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा बोल्दै अहिलेको निर्वाचन प्रणालीलाई कामयै राखेर भ्रष्टाचारमुक्त समाजको परिकल्पना सम्भव नभएकाले आन्दोलनमा जाने घोषणा गर्नुभएको हो ।

उहांले भन्नुभयो, ‘निर्वाचन प्रणालीले दलाल र भ्रष्टहरूलाई नै अगाडि ल्याउँछ। चुनाव जित्न पैसा चाहिन्छ। पैसा दलाल र नोकरशाहसँग हुन्छ। त्यसैले उनीहरू नै चुनाव जितेर आउँछन् नभए नेताहरूनिरीह हुनुपर्छ। जसले भ्रष्टाचारमा नेताहरूलाई पनि धकेल्छ।’

संसद् विघटन हुँदा सडकको घेराबन्दीकै कारणले पुन:स्थापना भएको उहांको दाबी छ । चोलेन्द्रले संसदीय समितिको बयानमा सो कुराको स्वीकार गरेको उहांको भनाइ छ। त्यसको नेतृत्व आफूले नै गरेको दाबी गर्नुभयो ।

उहांले भन्नुभयो, ‘अहिलेको विकृति र भ्रष्टाचारलाई अन्त्य गर्न नेपालका छिट्टै आन्दोलन हुन्छ। हेरिरहनुहोला चुनावपछि म सडकमा जान्छु। समाजवादमा जाने जुन परिकल्पना मैले गरेको छु त्यसका लागि यो मेसिनरी बदल्न जरुरी छ। हामीबाहेक अरूले गर्न सक्दैनन्, अरूले गर्ने आन्दोलन त प्रतिगमन नै हो।’

समाजवाद मार्गचित्र तयार गर्नका लागि जनताको साथमा सडकमा जानुको् विकल्प नभएको उहांको भनाइ छ ।