निर्वाचन आयोगको चेतावनी: ‘वैशाखमा निर्वाचन नभए लोकतन्त्र र संघीय प्रणालीमा नकारात्मक प्रभाव पर्छ’

काठमाडौँ । निर्वाचन आयोगले तोकिएको समयमै निर्वाचन नभए लोकतन्त्र र संघीय प्रणालीमै गम्भीर खतरा आउन सक्ने चेतावनी दिएको छ ।

आयोगले आज राजनीतिक दलहरुसँग बैठक गरी तोकिएको समयमा निर्वाचन नभए स्थानीय सरकार संचालनमा संकट आउने भन्दै दलहरूलाई सचेतसमेत गराएको छ ।

सरकार र सत्ताधारी दलहरू निर्वाचनप्रति गम्भीर नभएपछि निर्वाचन आयोगले आज सर्वदलीय बैठक बोलाएको हो ।

बैठकमा प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचन नभएको अवस्थामा आउने संकटबारे सचेत गराउनु भएको हो ।

स्थानीय तहको निर्वाचनबाट निर्वाचित पदाधिकारीको ५ वर्षे पदावधि २०७९ साल जेठ ५ गते समाप्त हुने भन्दै थपलियाले निर्वाचन सम्पन्न गर्न कम्तीमा ५३ क्रियाकलापहरू सम्पन्न गर्नुपर्ने बताउनु भएको छ ।

त्यसका लागि पनि १ सय २० दिन आवश्यक पर्ने र आयोगले प्रस्ताव गरेको समय वैशाख १४ र २२ मा निर्वाचन गर्न पनि समय घर्किन लागेको भन्दै नेताहरूको ध्यानार्कषणसमेत गराउनु भएको छ ।

आयोगले समयमै निर्वाचन नभए स्थानीय तह संचालमा संकट आउने ठहर गरेको छ ।