एमाले नेताहरूले प्रधानमन्त्रीलाई भने, “कोरोना नियन्त्रणमा गम्भीर बन्नुहोस्-सहयोग चाहिए हामीलाई भन्नुहोस्”

काठमाडौं । प्रमुख विपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताहरुले कोरोना नियन्त्रण तथा रोकथाम ध्यान दिन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

बालुवाटार पुगेर एमाले नेताहरूले कोरोनाको तेस्रो लहरले ठूलो रूप लिज थाल्दासमेत नियन्त्रण र रोकथाममा सरकार गम्भीर नभएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

प्रधानमन्त्रीको सरकारीनिवासमा शनिबार एमाले नेताहरु सुवासचन्द्र नेम्वाङ, योगेश भट्टराईलगायत नेताहरू गएका हुन् ।

कोरोनाको ओमिक्रोन भेरियन्टबाट नागरिक आतंकित भइरहेका बेला सरकारले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कुनै उल्लेख्य पहल नगरेको एमालेको दावी छ ।

प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउनुअघि एमाले सचिव योगश भट्टराईले कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले चालेका कदम प्रभावकारी नभएको, भण्डारणमा भएका खोप पनि नागरिकले लगाउन नपाएकाले यसले स्थितिलाई झन् जोखिमपूर्ण बनाउने बताउनुभयो ।

तीनै तहका सरकारलाई कोरोना नियन्त्रण तथा रोकथामका लागि चुस्त राख्न आग्रह गर्दै नेता भट्टराईले आवश्यक परे एमालेले सहयोग गर्ने बताउनुभयो ।

विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारले कोरोना नियन्त्रणका लागि गरेको प्रयासबाट अहिलेको सरकारले सिक्नुपर्ने उहाँको भनाइ छ।

एमाले नेता सुवास नेम्वाङले ध्यानाकर्षणपत्र प्रधानमन्त्री देउवालाई बुझाएलगत्तै प्रधानमन्त्री देउवाले सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर रहेको र खोपका लागि प्रयास गरिरहेको बताउनुभयो ।