लुम्बिनी प्रदेशसभामा एकीकृत समाजवादी निल

सत्तारूढ गठबन्धनको बैठकले केही सिट छाडेर देशभरका लागि प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँटमा सहमति गरेको छ।यसअनुसार लुम्बिनीमा प्रतिनिधिसभातर्फ २६ सिटमध्ये २५ सिटमा सहमति भएको छ। नेपाली कांग्रेसको भागमा १३, माओवादी केन्द्रको भागमा ७ र एकीकृत समाजवादीको भाग ४ सिट परेको छ। त्यस्तै राष्ट्रिय जनमोर्चाले एक सिट पाएको छ। एक सिट भने खाली छाडिएको छ। खाली छाडिएको क्षेत्र बाँके- २ हो।लुम्बिनी प्रदेशसभा निर्वाचनमा भने एकीकृत समाजवादीको प्रतिनिधित्व नहुने भएको छ।सत्तारूढ गठबन्धनले चुनावका लागि गरेको भागबन्डामा एकीकृत समाजवादीले लुम्बिनी प्रदेशसभाका ५२ सिटमध्ये एउटा पनि नपाउने भएको एक नेताले बताए। लुम्बिनी प्रदेशबाट प्रतिनिधिसभातर्फ भने उसले चार सिट पाएको छ।लुम्बिनी प्रदेशसभामा यसअघि रमा घर्तिमगर पाल्पाबाट समानुपातिक सांसद बन्नु भएको थियो। हाल उहाँ प्रदेश सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीसमेत हुनुहुन्छ ।बाँके, रूपन्देही, दाङ, गुल्मी र पाल्पामा आफ्नो पकड क्षेत्र दाबी गरेको एकीकृत समाजवादीले रुपन्देही- २, दाङ- १, गुल्मी- २ र पाल्पा- २ बाट प्रतिनिधिसभामा सिट पक्का गरेको छ।रूपन्देहीबाट राजु गुरूङ, दाङबाट मेटमणि चौधरी, गुल्मीबाट रामकुमारी झाक्री र पाल्पाबाट सोमप्रसाद पाण्डे उम्मेदवार बन्ने पक्का छ।एकीकृत समाजवादीले देशभरबाट भने प्रतिनिधिसभाका लागि १९ सिट पाउने भएको छ। नेकपा एमालेबाट अलग हुँदा प्रतिनिधिसभाका २३ र राष्ट्रियसभाका ७ जना गरी ३० जना सांसदले गठबन्धन सरकारलाई समर्थन गरेका थिए।लुम्बिनी प्रदेशसभाका लागि भाग नपाएको नेकपा एसले अन्य ६ वटा प्रदेशमा भने प्रदेशसभातर्फ ३६ वटा सिट पक्का गरेको छ।प्रदेश १ मा ११, मधेस प्रदेशमा ११, बागमती प्रदेशमा ९, गण्डकी प्रदेशमा २, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १ वटा सिट प्रदेशसभाका लागि पाएको छ।एकीकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेले लुम्बिनी प्रदेश एकीकृत समाजवादीको बलियो आधार रहेकाले प्रदेशसभातर्फ अझै पनि दाबी कायमै रहेको बताउनु भयो।पाण्डेले कपिलवस्तु, बाँके र बर्दियामा प्रदेशसभाका लागि अझै पनि दाबी गरिरहेको जानकारी दिनु भयो।‘तीनवटा जिल्लामा हाम्रो दाबी कायम नै छ तर गठबन्धनका ठूला दलहरूबाट धोका दिने काम भइरहेको छ,’ उहाँले बताउनु भयो।