काठमाडौं । नेपाली काँग्रेस नेतृत्त्वको सत्तारुढ गठबन्धनले देशका सातै प्रदेशमा संयुक्त भेला गर्ने भएको छ । कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाको बैठकले प्रदेशस्तरीय भेला गर्ने निर्णय गरेको हो ।
कात्तिक ४ गते कास्कीको पोखरामा हुने संयुक्त भेलाको समन्वय एकीकृत समाजवादीले गर्ने छ । यस्तै ४ गते नै रुपन्देहीको बुटवलमा, ५ गते मोरङको विराटनगर र धनुषाको जनकपुरमा तथा ६ गते सुर्खेतमा हुने भेलाको कांग्रेसले समन्वय गर्ने छ ।
६ गते कैलालीको धनगढीमा र ७ गते काठमाडौंमा हुने प्रदेशस्तरीय संयुक्त भेलाको समन्वय गर्ने जिम्मेवारी भने माओवादी केन्द्रले पाएको छ ।
यस्तै गठबन्धनको बैठकले केन्द्र, प्रदेश र जिल्लामा निर्वाचन परिचालन समन्वय समिति गठन गर्ने निर्णय पनि गरेको ४ दलका शीर्ष नेताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर बजार । २९ आश्विन २०७९, शनिबार १७:२०