डा. तोसिमा कार्कीको उम्मेदवारी खारेजीको माग गर्दै सर्वाेच्च पुग्यो निर्वाचन आयोग

काठमाण्डौ । निर्वाचन आयोगले डा. तोसिमा कार्कीको उम्मेदवारी खारेजीको माग गर्दै सर्वाेच्च अदालतमा निवेदन दिएको छ । आयोगले आज शुक्रवार सर्वाेच्चमा पुगेर कार्कीको उम्मेदवारीको विषयमा सर्वाेच्चबाट गएको मङ्गलवार भएको अन्तरिम आदेश बदर गरी पाउँ भनी निवेदन दिएको हो ।

आयोगले कात्तिक १२ गते नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकी कार्कीलाई लाभको पदमा कायम रहेको भन्दै उम्मेदवारी खारेज गरिदिएको थियो । आयोगको त्यस निर्णयविरुद्ध कार्कीले कात्तिक १४ गते सर्वोच्च अदालतमा रिट दिनुभएको थियो ।

अदालतले कात्तिक १५ गते प्रारम्भिक सुनुवाइपछि ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न आयोगलाई अन्तरिम आदेश दिएको थियो ।