अध्यारो कोठामा बसेर ढुंगा हान्ने प्रयास गर्नुहुदैन : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सभ्य भाषामा नो नट अगेन भन्न पाइने बताउनु भएको छ ।

सोमबार आयोगले कलाकारहरुसँग गरेको अन्तर्क्रिरया कार्यक्रममा उहांले कसैलाई पनि लाञ्छना नलगाएर नो नट अगेन भन्न पाइने बताउनु भएको हो ।

‘अहिले हामी निर्वाचनको अत्यन्त सुन्दर तलाउमा छौं । कुनामा बसेर वा टाढा बसेर यो सुन्दर तलाउमा दुष्प्रचारको ढुंगा नहानिदिनुस् भनेको मात्रै हो । यो सुन्दर सागरमा दुष्प्रचार, मिथ्या सूचना र चरित्र हत्या गर्ने किसिमका पहरे नबिसाइदिनुहोस् भनेको मात्रै हो’ प्रमुख आयुक्त थपलियाले भन्नु भयो, ‘‘यहाँहरुले मजाले नो नट अगेन भन्न पाउनुहुन्छ, नो नेभर अगेन भन्न पाउनुहुन्छ, इलेक्ट एण्ड अगेन, इलेक्ट अगेन एण्ड अगेन भन्न पनि पाउनुहुन्छ । तर सभ्य भाषामा भन्नुपर्छ । मित्रवत भाषामा भन्नुपर्छ । समाजले पचाउने भाषामा भन्नुपर्छ ।’

यसअघि आयोगले फेसबुकमा सञ्चालित नो नट अगेन पेज र गु्रप बन्द गर्न निर्देशन दिएपछि अभिव्यक्ति स्वतन्त्रता हनन् गरेको भन्दै सार्वजनिक रुपमा विरोध भएको थियो । उक्त विवादमा आइतबार सर्वोच्च अदालतले नो नट अभियानमाथि कारबाही नगर्न अन्तरिम आदेश पनि दिएको थियो ।

प्रमुख आयुक्त थपलियाले अभिव्यक्ति स्वतन्त्रतामा चरित्र हत्या र मिथ्या सूचना फैलाउने विषय नपर्ने पनि बताउनु भयो । ‘लोकतन्त्र, निर्वाचन र अभिव्यक्ति स्वतन्त्रतासँग चरित्र हत्या गर्ने कुरा, मिथ्या सूचना दिने कुरा, दुष्प्रचार गर्ने कुरा र घृणास्पद अभिव्यक्ति दिने कुरा जोड्न हुँदैन, मिलाउनु हुँदैन’ उहांले भन्नु भयो ।

प्रमुख आयुक्त थपलियाले आयोगले सामाजिक सञ्जालको प्रयोग सकारात्मक कुरामा गर्नुपर्ने बताउनु भयो । ‘अहिले उम्मेदवारहरु घरदैलोका क्रममा हुनुहुन्छ, तपाईंलाई त्यो उम्मेदवार मन पर्दैन भने घरबस्तीमै गएर जनतालाई सिकाइदिनुस्, किन अध्यारो कोठामा बसेर ढुंगा हान्ने प्रयास गर्नुहुन्छ, उज्यालोमा नै जानुहोस् उहांले भन्नु भयो ।