

दैलेख । दैलेखबाट एकीकृत समाजवादीका अम्मरबहादुर थापा र नेपाली कांग्रेसका दिक्पाल कुमार शाही प्रतिनिधि सभा सदस्यमा विजयी हुनु भएको छ। थापा क्षेत्र नम्बर १ बाट र शाही २ बाट सांसद पदमा विजयी हुनु भएको हो ।थापाले नेकपा एमालेका उम्मेदवार रविन्द्रराज शर्मालाई ८४९ मत अन्तरले हराउनु भयो । थापाले १८ हजार २५६ मत पाउँदा शर्माको पक्षमा १७ हजार ४०७ मत पर्यो । राप्रपाकी महामन्त्री कुन्तीकुमारी शाही ४ हजार ६०२ मतसहित तेस्रो हुनु भयो ।यसैगरी दैलेख क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दिक्पालकुमार शाही निर्वाचित हुनु भएको छ । नेकपा एमालेका लक्ष्मीकुमार पोख्रेललाई १५३ मतान्तरले हराउँदै शाही सांसद चुनिनु भएको हो ।सत्ता गठबन्धनका साझा उम्मेदवार शाहीले २० हजार १५८ मत पाउनु भएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका पोख्रेलले २० हजार ५ मत पाउनु भयो । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का केशेन्द्र कार्कीले ३ हजार ८३, राष्ट्रिय स्वतन्त्र पार्टीका बखत भण्डारीले ७१३ र राप्रपाका लोकेन्द्रराज गिरीले ४८९ मत पाउनु भयो ।४७ हजार १९४ मत खसेको यो क्षेत्रमा २ हजार ७४६ मत बदर भएको छ ।प्रदेश सभातर्फ क्षेत्र नम्बर १को १ बाट नेपाली कांग्रेसका पूर्णबहादुर खत्री र १ को २ बाट कांग्रेसकै कृष्णकुमार बीसी विजयी हुनु भयो ।यसैगरी क्षेत्र नम्बर २ को १ बाट कांग्रेसकै घनश्याम भण्डारी र २ बाट एमालेका विनोद कुमार शाह विजयी हुनु भएको छ ।

खबर बजार । ८ मंसिर २०७९, बिहीबार ०८:०७