निलम्वित प्रधान न्यायाधीश जबराको निलम्बन फुकुवा विरुद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन


२३ मंसिर, काठमाडौं । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको निलम्बन फुकुवा विरुद्ध परेको रिटमा सुनुवाइ गर्न सर्वोच्च अदालतले संवैधानिक इजलास गठन गरेको छ ।
कायममुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठित इजलासमा बरिष्ठतम् न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वर प्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा हुनुहुन्छ ।

यो संवैधानिक इजलासले संघीय संसदका महासचिव भरतराज गौतमले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई निलम्बन फुकुवाको पत्र दिएको विरुद्धमा परेको रिट निवेदनको सुनुवाइ गर्नेछ ।

सत्तारुढ गठबन्धनका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेपछि जबरा १ फागुन २०७८ देखि निलम्बनमा हुनुहुन्थ्यो । तर संघीय संसदका महासचिव गौतमले यही मंसिर २१ गते महाअभियोग निष्प्रभावी भएको पत्र पठाउनु भएको थियो ।

त्यसविरुद्ध सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले सोही दिन रिट दर्ता गराउनु भएको थियो ।

महाअभियोग निलम्बन फुकुवाको पत्र पाएकै दिन जबरा सर्वोच्च अदालत गएर हाजिर हुने तयारीमा थिए । तर कानुन व्यवसायीहरुको विरोध र धर्नाका कारण सो दिन उनी सर्वोच्च जान सकेनन् ।

नेपाल बार एशोसिएसन र सर्वोच्च बार एशोसिएसनको अगुवाइमा आज पनि कानुन व्यवसायीहरु धर्नामा बस्ने तयारी छ भने सर्वोच्च परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।