इलाम–१ को निर्वाचन बदरको माग राखी रिट दिन पेस


काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफू उम्मेदवार रहेको इलाम–१ को निर्वाचन बदरको माग राखी सर्वोच्च अदालतमा रिट दिनु भएको छ ।

निर्वाचन अधिकृतले गरेको निर्वाचन परिणाम घोषणा बदर गरी फेरि मतदान हुनुपर्ने उहांको माग छ । धाँधली गरी आफ्ना प्रतिस्पर्धीलाई निर्वाचित गराइएको भन्दै खनालले मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराउनु भएको हो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको निवेदनमा उहांले निर्वाचन आयोग, इलाम १ को निर्वाचन अधिकृतको कार्यालय, इलामको मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय इलाम, जिल्ला निर्वाचन अधिकारी अनि संघीय संसद सचिवालयलाई समेत विपक्षी बनाएर रिट निवेदन दर्ता गराउनु भएको छ ।

यो क्षेत्रबाट खनाललाई हराउँदै नेकपा एमालेका महेश बस्नेत निर्वाचित हुनु भएको छ । इलाम–१ मा एमाले उम्मेदवार महेश बस्नेत २५ हजार ७५३ मतसहित निर्वाचित हुनु भएको थियो भने खनालले २३ हजार ८९ मत पाउनु भएको थियो ।