नेकपा एमालेद्वारा आयोगको पत्राचारअनुसार समानुपातिकको नाम सच्याएर पेश


काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगको पत्राचारअनुसार समानुपातिकतर्फको नाम सच्याएको छ । एमालेले प्राथमिकता क्रम मिचेर आयोगमा उम्मेदवारको सूची पेश गरेको थियो । त्यसपछि आयोगले एमालेलाई सच्याएर पेश गर्न पत्राचार गरेको थियो । तर, एमालेले सोमबार आफूले पठाएको सूची यथावत रहेको भन्दै जवाफ पेश गरेको थियो ।

आयोगले मंगलबार पुन: पत्राचार गर्दै समानुपातिक सांसदको नाममा भएको त्रुटि सच्याउन केही घण्टाको समय दिएको थियो । दोस्रो पटक आयोगले पत्राचार गरेपछि एमालेले नाम सच्याएर पठाएको समानुपातिक निर्वाचन प्रणालीका सहायक निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार एमालेले प्रदेश नम्बर १ को प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फको बन्दसूचीमा अल्पसंख्यकतर्फ लहरुमाया जिमीको सट्टा अल्पसंख्यकको प्राथमिकताक्रम ८ का यशोदा कायस्थको नाम कायम गर्न पत्राचार गरेको छ ।

यस्तै मधेस प्रदेशमा प्राथमिकता क्रम १८ मा रहेका शीला यादवको सट्टा अल्पसंख्यकभित्रको प्राथमिकता क्रम संख्या ८ की राजपतीदेवी जैसलवालको नाम कायम गर्न पत्राचार गरेको छ ।

मधेस प्रदेशकै प्राथमिकता क्रम ४० मा रहेकी नाजिमा खातुनको सट्टा क्रम संख्या १ का जैनव खातुनको नाम कायम गर्न पत्राचार गरेको छ ।

नाम पेस गर्नुअघि एमालेले जैनब खातुनलाई कारबाही गरेको थियो । उनी प्रभु साह निकट रहेको भन्दै उनको सट्टा नाजिमालाई राखेको थियो ।