सुर्खेत । कर्णालीमा तिन दलले संसदीय दलको नेता चयन गरेका छन ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेको संसदीय दलको नेता चयन गरेका हुन ।
संसदीय दलको नेता चयनसँगै पहिलो चरणको सरकारको नेतृत्व कसले गर्ने भन्ने चर्चा शुरु भएको छ । यसअघि काँग्रेस र माओवादीबिच कसले सरकारको नेतृत्व लिने भन्ने वहस शुरु भएको थियो । तर एकाएक केन्द्रमा सत्ता समिकरण बदलियसँगै एमाले र माओवादी कसले सरकारको नेतृत्व गर्ने भन्ने बहस शुरु भएको हो ।
सरकार गठनको कुरा केन्द्रमा निर्भर रहेकाले प्रदेशका नेताहरु केन्द्रको निर्णयको पर्खाइमा छन ।
केन्द्रमा राजनितिक समिकरण फेरिएपछि एमालेलाई पनि सरकारको नेतृत्व गर्ने बाटो खुलेको छ ।
२०७४ मा २० सिटसहित पहिलो दलको हैसियत बनाएको एमालेसँग यो पटक १० सिटमात्रै छ ।
माओवादीसँग भने अहिले १३ सिट छ । ४० प्रदेशसभा सदस्यमा सरकार बनाउनका लागि कम्तीमा २१ सांसदको समर्थन आवश्यक हुन्छ । तर राप्रपाको एक सिटसहित अहिलेको नयाँ गठबन्धनसँग २४ सिट छ ।
केन्द्रमा माओवादीको सिट संख्या कम हुँदा पनि एमालेले साथ दिएर माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेको र ०७४ मा कर्णालीमा २० सिट हुँदा पनि १३ सिट रहेको माओवादीका महेन्द्रबहादुर शाहीलाई समर्थन गरेको एमाले प्रदेश कमिटीका नेताहरुले बताएका छन ।
बुधबार एमालेले स्थायी कमिटी सदस्य एवं प्रदेश इञ्चार्ज यामलाल कँडेल र माओवादी केन्द्रले पोलिटब्यूरो सदस्य राजकुमार शर्मालाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चुनेपछि कँडेल र शर्मामध्ये को पहिला सरकारको नेतृत्वमा जाने भन्ने विषय वहसको विषय बनेको हो ।
एमाले संसदीय दलका नेता कंडेलले एमालेले कर्णालीमा पहिलो चरणमै सरकार बनाउने गरी संस्थागत रुपमा पार्टी केन्द्रलाई जानकारी गराइएको बताउनुभयो । माओवादी संसदीय दलका नेता राजकुमार शर्माले पनि सरकार बनाउने कुरा केन्द्रमै निर्भर रहेको बताउनुभयो ।
शर्माले संख्या र जनाधारको हिसाबमा माओवादीकै नेतृत्वमा सरकार बन्ने विश्वास व्यक्त गर्नुभयो ।
"
खबर बजार । १५ पुष २०७९, शुक्रबार ११:३८