गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा एमाले नेता अधिकारी नियुक्त


पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त हुनुभएको छ । गण्डकी प्रमुख पृथ्वीमान गुरुङले अधिकारीलाई सोमबार मुख्यमन्त्री पदमा नियुक्त गर्नु भएको हो ।

प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेका अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्नु भएको हो ।

अधिकारीले ६० सदस्यीय प्रदेशसभामा एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद गरी ३३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गर्नु भएको थियो । अधिकारीले आज बेलुका ४ बजेर ३० मिनेट जाँदा शपथ ग्रहण गर्ने प्रदेश प्रमुखका कार्यालयले जनाएको छ ।