बैंकहरु नै सबैभन्दा ठूलो मिटरब्याजी भए: डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बैंकहरु नै सबैभन्दा ठूलो मिटरब्याजी भएको आरोप लगाउनु भएको छ । चितवन काठमाडौं प्रजातान्त्रिक संगमको कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै नेता कोइरालाले सबैभन्दा ठूलो मिटरब्याजी बैंकहरु भएको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘ब्यांकर्सहरु मसँग अलिकति रिसाउनु पनि भएको छ । मैले त भन्ने गर्याछु आजकाल, सबभन्दा ठूलो मिटरब्याजी त बैंकहरु भए ।’

देश आर्थिक रुपले अप्ठेरो परिस्थितिमा रहेको तर त्यसबाट बैंक प्रभावित भएको नदेखिएको उहाँले बताउनु भयो । ‘सबैचिज अप्ठ्यारो परिस्थितिबाट गइरहेको छ, आर्थिक कुरा गर्दाखेरि, तर बैंक फस्टाइरहेको छ, बोनस बाँडिरहेको छ, कसरी हुन्छ यो ?’ डा. कोइरालाले भन्नु भयो ।