

काठमाण्डौ । मलेसियाले नेपाली श्रमिकलाई स्थानीय श्रमिक सरह सेवा सुविधा दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
तीन दिने नेपाल भ्रमणमा रहनुभएका मलेसियन गृहमन्त्री फुद्दिन नासुसन इजमाइलले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसहितको श्रम मन्त्रालयको टोलीसँग भेटवार्ता गर्दै नेपाली श्रमिकलाई ज्यालामा विभेद नगर्ने भन्दै मलेसियाका स्थानीय श्रमिक सरह सेवा सुविधा दिने प्रतिबद्धता व्यक्त गर्नुभएको श्रम मन्त्री डोलप्रसाद अर्यालले जानकारी दिनुभयो ।
छलफलपछि मलेसियन गृहमन्त्री फुद्दिन नासुसनले मलेसियाले छिट्टै नयाँ श्रमिक नीति बनाउने र यो नीतिमा श्रमिकको ज्यालामा वृद्ध गरिने बताउनुभएको छ । मलेसियामा काम गरिरहेका तर विभिन्न कारणले कानुनी हैसियतमा नरहेका नेपालीहरूका लागि ‘रि क्यालिब्रेसन प्लान’ अघि सारेको पनि उहाँले जानकारी दिनुभयो ।
अहिले २ लाख ८५ हजार ७६८ जना नेपालीहरू मलेसियामा कार्यरत रहेको पनि उहाँले जानकारी दिनुभयो । जसमध्ये उत्पादनमूलक क्षेत्रमा १ लाख ८५ हजार कार्यरत रहेको र बाँकी ७० हजार जना नेपालीहरू मलेसियामा सुरक्षा गार्डका सुरुमा काम गरिरहेको उहाँको भनाइ छ ।
शुक्रबार काठमाण्डौस्थिती सोल्टी होटलमा भएको भेटका क्रममा दुई सरकारबीचको सम्बन्धलाई थप मजबुत बनाउने, नेपाल र मलेसियाबीच भएको श्रम समझदारी नवीकरण लगायतको विषयमा समेत छलफल भएको श्रम मन्त्री अर्यालले जानकारी दिनुभयो ।
बिहीबार बेलुका १५ सदस्यीय टोलीसहित मलेसियन गृह मन्त्री फुद्दिन नासुसन नेपाल आउनुभएको हो ।
‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेसन प्लान’ अन्तर्गत मलेसियाले नेपालसहित विभिन्न १५ देशबाट तुरुन्तै ५ लाख श्रमिक लैजाने योजना बनाएको छ ।
यसबारेमा पनि मलेसियाले नेपाललाई औपचारिक रूपमा जानकारी दिएको छ ।

खबर बजार । २० माघ २०७९, शुक्रबार १६:४९