फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

वि.सं. २०५२ फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसीर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो ।

जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ । परिवर्तनका पक्षमा भएका सबै आन्दोलन र क्रान्तिहरूको सम्मानमा सरकारले सार्वजनिक विदा दिने निर्णय लिएको हो ।

यसअघि पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा सरकारले सार्वजनिक विदा दिएको थियो।