उपराष्ट्रपति पदमा रामसहाय प्रसाद यादवको उम्मेदवारी कायमै रहने

काठमाडौं । निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवको उम्मेदवारी कायमै रहने निर्णय गरेको छ ।

सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले यादवको उम्मेदवारी बदर नहुने निर्णय गरेको जानकारी दिनुभयो । ‘रामसहाय यादवको उम्मेदवारी बदर भएन, चारैजनाको उम्मेदवारी कायमै रह्यो,’ शर्माले भन्नुभयो ।

यादवको उम्मेदवारी खारेजको माग गर्दै नेकपा एमालेका उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए । यादव आज निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी कानुनसम्मत भएको भन्दै उजुरी खारेज गर्नुपर्ने माग गर्नु भएको थियो ।

उपराष्ट्रपतिमा गठबन्धन दलबाट जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव र प्रमिला कुमारी यादव तथा जनमत पार्टीकी ममता झाले हिजो उम्मेदवारी दिएका थिए । नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उम्मेदवार हुनुहुन्छ ।

उम्मेदवारहरुलाई आज पाँच बजेभन्दा अगाडि उम्मेदवारी फिर्ताको समय दिइएको छ । पाँच बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुने छ ।

उपराष्ट्रपति पदको निर्वाचन चैत ३ गते हुनेछ ।