आउँदो चैत १० गते सरकारले पूर्णता पाउने प्रधानमन्त्री प्रचण्डको दाबी

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो चैत १० गते सरकारले पूर्णता पाउने बताउनुभएको छ ।

शुक्रवार लगानी बोर्डको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले आफूले चैत ६ गते विश्वासको मत लिने र त्यसको तीन/चार दिनसम्ममा सरकारले पूर्णता पाउने बताउनुभयो ।

प्रधानमन्त्रीले आज उपराष्ट्रपतिको चुनावपछि सबै दलहरूसँग बसेर सत्ता विस्तारको बारेमा पनि छलफल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु । विश्वासको मत ६ गते लिने भनिएको नै छ । त्यसको चार दिनभित्रमा सरकारलाई पूर्णता दिन्छु ।’

प्रधानमन्त्री दाहालले सरकार विस्तार हुन कुनै पनि अफ्ठ्यारो नरहेको दाबी समेत गर्नुभयो ।