काठमाडौं । स्थानीय तहको निर्वाचन वैशाखभित्रै गराउन प्रतिपक्षी दलले दबाब बढाइरहेको बेला सत्ता गठबन्धनको बैठकमा यो विषयले प्रवेश गरेको छ ।
यसअघि सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायतले स्थानीय निर्वाचनभन्दा पहिला संसदीय निर्वाचन गर्ने भनिरहेको भए पनि सबै साझेदार दल एकमत हुन सकेका छैनन् ।
यसअघि कुनै निर्णय हुन नसकेको सत्ता गठबन्धनको बैठक आज पनि प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने भएको हो ।
यसबारेमा आजै अपराह्न फेरि बैठक बसेर एउटा निष्कर्षमा पुगिने सत्ता गठबन्धनका नेताहरुले बताएका छन् ।
संसदको सबैभन्दा ठूलो एवं प्रतिपक्षी दल नेकपा (एमाले) ले निर्वाचन सार्न नहुने भन्दै आन्दोलन गर्ने तयारी गरेको बेला काँग्रेसभित्रसमेत दुई धारमा छलफल चलिरेको छ । यसले प्रधानमन्त्री शेरबहादुर देउवा दबाब हुनुहुन्छ ।
अर्को तर्फ सत्ता साझेदार दलका प्रमुखहरु नै निर्वाचन तत्कालै नगर्ने मुडमा रहेकोले देउवालाई झनै समस्या चुलिएको छ ।
चुनाव सार्नु वा वैशाखमा नगर्नु संविधानविरुद्ध हुने भएकाले संविधानविरुद्ध जान नहुने प्रतिपक्षी दलहरु र काँग्रेसकै नेताहरुले बताउने गरेका छन् ।
प्रचण्ड र माधव नेपाललाई समेत मनाएर समयमै निर्वाचन गर्नेगरी छलफल सकारात्मक ढंगले अघि बढेको बैठकमा सहभागी कांग्रेस नेताले बताएका छन् ।
खबर बजार । १५ माघ २०७८, शनिबार ०६:१९