काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुसवाह जनमत पार्टीमा प्रवेश गर्नु भएको छ । आज रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै कुसवाह जनमत पार्टीमा प्रवेश गर्नु भएको हो । पार्टीभित्र जालझेल गरेर आफूलाई माइनस गरिएकाले जनमत पार्टी रोजेको उहाँले बताउनु भयो ।
गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा उहाँ बारा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवार हुनुहुन्थ्यो । तर उहाँ तत्कालीन जसपाका उम्मेदवार रामसहाय प्रसाद यादवसँग ३५४ मत अन्तरले पराजित हुनुभएको थियो । यादव उपराष्ट्रपति निर्वाचित भएपछि त्यहाँ आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।
कुसवाहले अब बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचन लड्ने तयारीमा हुनुहुन्छ । आफू स्वतन्त्र भएर चुनाव लड्न खोजेको तर जनताले पार्टीबाट चुनाव लड्न आग्रह गरेकाले जनमत पार्टी प्रवेश गरेर चुनाव लड्ने तयारी गरेको उहाँले बताउनु भयो ।
सो क्षेत्रमा सत्ता गठबन्धनले जसपाका अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचन लडाउने तयारी छ । पत्रकार सम्मेलनमा कुसवाहले उपेन्द्र यादव चुनाव लडे उनलाई हराउने बताउनु भयो ।
खबर बजार । १५ चैत्र २०७९, बुधबार १२:५०