

काठमाण्डौ । नेपाली कांग्रेसले चितवन निर्वाचन क्षेत्र नम्बर २ र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा हुने उपचुनावका लागि पार्टीको तर्फबाट उम्मेदवारको चयन गरेको छ ।
बिहीवार आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले चितवन निर्वाचन क्षेत्र नम्बर–२ बाट जितनारायण श्रेष्ठ र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले बारा क्षेत्र नम्बर २ मा १९ गते फेरि केन्द्रीय कार्यसमितिको बैठक बसेर छलफल गरी टुङ्ग्याउने निर्णय भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘बैठकले चितवन निर्वाचन क्षेत्र नम्बर २ र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा हुने उपचुनावमा पार्टीको तर्फबाट उम्मेदवार चयन गर्ने निर्णय गरेको छ । तनहुँ क्षेत्र नम्बर १ मा पार्टी केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । चितवन क्षेत्र नम्बर २ मा पार्टीका पूर्व चितवन सभापति जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बारा क्षेत्र नम्बर २ को हकमा भने १९ गते फेरि केन्द्रीय कार्यसमितिको बैठक बसेर छलफल गरी टुङ्ग्याउने निर्णय भएको छ ।’

खबर बजार । १६ चैत्र २०७९, बिहीबार १४:४०