यती, ओम्नी र गिरीबन्धु टी–इस्टेटलगायत छानबिन गर्न एमाले अध्यक्ष ओलीको चुनौती

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यती, ओम्नी र गिरीबन्धु टी–इस्टेटलगायत प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौती दिनु भएको छ । सोमबार राजधानीमा आयोजित जनप्रतिनिधिसँग केपी ओली कार्यक्रममा बोल्दै उहाँले यी प्रकरणमा छानबिन गर्दा पनि आफूलाई फरक नपर्ने बताउनु भएको हो ।

‘त्यतिबेलादेखि अहिलेसम्म छानबिन गर भनिराखेका छौं त । के यती होल्डिङस, यती होल्डिङस भनेर कराइरहेको, वाइडबडी, गर न त छानबिन अनि जाऊ आफैं जेलमा’, उहाँले भन्नुभयो, ‘वाइडबडीको छानबिन गर, जेल जाऊ । अस्तिसम्म ललितानिवास ललिता निवास भन्दै थिए । अहिले कतै भागा भाग छ । कोही यताबाट कोही उताको ढोकाबाट भागाभाग छ ।’

आफूलाई ललिता निवासको विषयमा आरोपित गरिरहेको भए पनि अहिले आफैं त्यसमा फँसिरहेको उहाँको भनाइ छ । ओलीले गिरिबन्धु टी इस्टेटको जग्गा पहिले कानुनविना बिक्री भएकामा आफूले कानुन बनाएर व्यवस्थित गरेको दाबी गर्नुभयो ।

‘अहिले चिया बगान निस्केको छ । गर न छानबिन, विना कानुन ०५३ सालमा १९ विघा जमिन बेच्न दिइएको थियो कमिसन खाएर, त्यसको छानबिन गर । ०६० कि कति सालमा बिना कानुन ५१ बिघा जमिन बेच्न दिइएको थियो, कमिसन खाएर । छानबिन गर जेल जाऊ’, उहाँले भन्नुभयो, ‘हामीले कानुन बनाइदिएका हौं । अब उपरान्त कानुनसम्मत गर भनेर भनेका छौं । बनाइदिएका छौँ ।’
उहाँले नेकपा एमाले कमिसनका पछाडि हिँड्ने पार्टी नभएको र महान उद्देश्यका लागि हिँड्ने पार्टी भएको बताउनु भयो ।

उहाँले ओम्नी प्रकरणबारे पत्रिका पढेर थाहा पाएको भन्दै आफूले अहिलेसम्म नदेखेको र सुनेको मात्रै जिकिर गर्नु भयो ।

उहाँले भ्रष्ट र तस्करले उल्टै थर्काएको भन्दै सत्तामा भएकाहरू आफैंले सुन तस्करी गरेको आरोप लगाउनु भयो । त्यसमा अरूको ध्यान नजाओस् भनेर केपी ओलीले पशुपतिमा सुन भनेर पित्तल चढाएको विषय निकालेको बताउनु भयो ।