काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरू भएको छ । तीन दिनसम्म चल्ने बैठक पार्टीको केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो ।
बैठकमा १० वटा एजेन्डामा छलफल हुने एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताउनु भयो । वैशाख २६ मा बसेको सचिवालय बैठकले केन्द्रीय समितिको बैठकको लागि १० वटा एजेन्डा तय गरेको थियो ।
बैठक अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नुका साथै, निर्वाचनको समीक्षा, ग्रास रुट अभियानको समीक्षा, भावी नीति तथा कार्यक्रमलगायतका एजेन्डा तय भएका छन् ।
यस्तै, बैठकमा पार्टीका नेता टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको विषयमा पनि छलफल हुने बताइन्छ । सो प्रकरणमा शीर्ष नेताहरू नै मुछिएका छन् । रायमाझीलाई बुधवार सचिव पदबाट निलम्बन गरेको थियो ।
खबर बजार । २८ बैशाख २०८०, बिहीबार १२:०४