काठमाण्डौँ । नेकपा (एमाले) को सचिवालय बैठकमा आगामी निर्वाचनको सन्दर्भलाई लिएर छलफल भएको छ । भक्तपुरको जर्मन पार्टी प्यालेसमा करिब चार घण्टा चलेको देशकै ठूलो पार्टीको बैठक मुलतः स्थानीय तहको निर्वाचन केन्द्रित रणनीति तय गर्नमा केन्द्रित भएको हो ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सम्बोधनमा अब पार्टीको सम्पूर्ण शक्ति निर्वाचन केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । अहिलेको सरकार स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्रमा लागे पनि एमाले र अरुको दवावले हच्किएको बताउनुभएको छ ।
साथै सचिवालय बैठकमा एमालेले अन्य केहि फरक विषयका निर्णय समेत गरेको छ । जुन तल उल्लेख गरिएका छन् ।
१. सबै जिल्ला कार्यालयमा एकजना आइटी विज्ञ अनिवार्यः
एमालेले देशभरका सबै जिल्ला पार्टी कार्यालयमा एकजना सूचना प्रविधि विज्ञ नियुक्त गर्ने भएको छ । बैठकले पार्टी सदस्यता अद्यावधिक गर्नका लागि आइटी विज्ञ नियुक्त गर्न सबै जिल्लालाई निर्देशन दिइएको छ ।
फागुन महिनाभित्र पार्टी सदस्यता वितरण गर्ने र पार्टी सदस्यता अद्यावधिक गर्ने कार्ययोजना एमालेले बनाएको छ । नेकपा (एस) मा गएका सदस्यहरुलाई पार्टी सदस्यको अभिलेखबाट हटाउने र सदस्यता अद्यावधिक गर्ने गरि नयाँ योजना बनाइएको छ ।
२. स्थानीय चुनावपछि मात्रै प्रदेश अधिवेशनः
प्रदेशअधिवेशन स्थानीय तहको निर्वाचनपछि मात्रै गर्ने निर्णय भएको एमालेले जनाएको छ । यसअघि माघ ८ मा प्रदेश अधिवेशन तोकिएको थियो । कोरोनाको कारण देखाउँदै त्यसलाई माघ २८ र २९ मा सारिएको थियो ।
३. केहि जनसंगठनका महाधिवेशन स्थगितः
एमालेले युवा, विद्यार्थी, महिला र किसान संगठनका महाधिवेशन गर्न तत्काललाई रोकेको छ । सचिवालय बैठकले आवश्यक तयारीपछि मात्र युवा संघ, अनेरास्ववियु, अखिल नेपाल महिला संघ र किसान महासंघका राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ ।
सबै जनसंगठनलाई फागुनभित्र महाधिवेशन गर्न निर्देशन दिए बमोजिम प्रायः संगठनले चैत पहिलो सातामित्र महाधिवेशनको मिति तय गरेका थिए । सचिवालयको बैठकले ती चारबाहेक अन्य जनसंगठनका महाधिवेशन भने निर्धारित मितिमै गर्न निर्देशन दिएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
४. प्रदेशस्तरमा अगुवा कार्यकर्ता भेलाः
बैठकले स्थानीय तहको निर्वाचनको तयारीका लागि केन्द्रीय र प्रदेशस्तरमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने निर्णय समेत गरेको छ ।
साथै पार्टीको नियमावली तथा जनसंगठन सञ्चालन निर्देशिका समेत सचिवालय बैठकले सुझाव सहित पारित गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
खबर बजार । १९ माघ २०७८, बुधबार १७:३७