तीन महिनापछि कर्णाली सरकारले पायो पूर्णता

सुर्खेत । कर्णाली प्रदेश सरकार गठन भएको तीन महिनापछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

जीवनबहादुर शाहीले मुख्यमन्त्रीका रुपमा कात्तिक १६ गते सपथग्रहण गरेपछि तीन महिनापछि मात्र मन्त्रिपरिषद्ले पूर्णता दिनुभएको हो । नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख तिलक परियारबाट आज नै पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

नेपाली कांग्रेसबाट दुई, नेकपा (माओवादी केन्द्र) बाट दुई र नेकपा (एकीकृत समाजवादी) बाट एक जना मन्त्री नियुक्त भएका छन् । तीन दलीय गठबन्धन रहेको कर्णालीमा काँग्रेसबाट मन्त्रीमा सुर्खेतका सांसद यज्ञबहादुर बि‍. सी. सामाजिक विकासमा र दैलेखका सांसद हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त हुनुभएको छ ।

यसैगरी, गठबन्धनभित्रको सबैभन्दा ठूलो दल नेकपा (माओवादी केन्द्र) कोटाबाट जाजरकोटका सांसद गणेशप्रसाद सिंह जलस्रोत तथा ऊर्जामन्त्री र हुम्लाका गैरसांसद छिरिङ दमदोल लामा (कार्चेन) उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियूक्त भएका छन् ।

त्यस्तै, नेकपा (एमाले) बाट फुटेको एकीकृत समाजवादीबाट जुम्लाका सांसद पदमबहादुर रोकाया भौतिक, पूर्वाधार तथा सहरी विकासमन्त्रीमा नियुक्त भएका छन् ।

माओवादी केन्द्रबाट यसअघि विन्दमान विष्ट आर्थिक मामिला तथा योजनामन्त्री बनिसक्नुभएको छ भने एकीकृत समाजवादीबाट दलका नेता चन्द्रबहादुर शाही भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनिसकेका छन् । यो सँगै आठ सदस्यीय प्रदेश मन्त्रीमण्डलले पूर्णता पाएको छ ।

गैरसांसद कार्चेन लामालाई माओवादीले मन्त्री बनाएको भन्दै दलभित्रकै नेताहरूले असन्तुष्टि व्यक्त गरिरहेका छन् ।