निर्वाचनको तयारीबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बिहिवार पार्टी केन्द्रीय कार्यालय सानेमा बस्दैछ ।

बैठक दिउँसो दुई बजेका लागि बोलाइएको छ । बैठकमा स्थानीय तह निर्वाचनको तयारीबारे छलफल हुने बताइएको छ ।

कांग्रेस पदाधिकारी बैठकले बिहीबार बस्ने कार्यसम्पादन बैठकमा छलफल गरी स्थानीय निर्वाचनको तयारी थाल्ने निर्णय गरेको थियो ।

कार्यसम्पादन समितिको बैठकमा म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्था र १६ जिल्लाको अधिवेशनबारे पनि छलफल हुनेछ ।

नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल , नेपाल महिला संघ लगायतका भ्रातृ संस्थाहरुको म्याद सकिएको छ भने विधानतः अध्यक्ष पद रिक्त भएको अवस्था छ ।