

सुर्खेत । प्रभु बैङ्क लिमिटेडले कर्णाली प्रदेशमा वित्तीय साक्षरताको अभियान सुरु गरेको छ । कर्णालीका आफ्नो कार्यक्षेत्र रहेका स्थानहरुमा वित्तीय साक्षरता अभियान सुरु गरेको बैङ्कले पहिलो कार्यक्रम दैलेखको गुराँस गाउँपालिकामा गरेको हो ।
शुक्रवार गाउँपालिकाको हलमा गाउँपालिकाका पदाधिकारी, कर्मचारी र वडाका जनप्रतिनिधिलाई अभिमुखिकरण गरिएको छ ।
प्रभु बैङ्कका कर्णाली प्रदेश प्रमुख शरद तिमिल्सिनाको अध्यक्षता र गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रुपैयाँ-पैसा, यसको महत्त्व, जोगाउने उपायका साथै प्रभु बैङ्कबाट प्रवाह हुने सुविधाको सन्दर्भमा जानकारी गराइएको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष विसीले अहिले वित्तीय साक्षरताको कमीकै कारण गाउँगाउँमा नागरिकहरु अनावश्यक झन्झटमा फस्ने गरेकोले यस्तो कार्यक्रम गाउँगाउँसम्म लैजान सुझाव दिनुभएको छ ।
बैङ्कका प्रदेश प्रमुख तिमिल्सिनाले गुराँसबाट सुरु भएको यो अभियान प्रदेशभरका आवश्यक रहेका सबै ठाउँमा गरिने बताउनुभएको छ ।

खबर बजार । ८ आश्विन २०७९, शनिबार १४:२४